नियम ७०
अभियोगपत्रसाथ पेस भएका दसीका मालसामानको व्यवस्थापन
(१) मुद्दामा अभियोगपत्रसाथ अदालतमा दाखिल गर्नु पर्ने दसीका सामानको प्रकृतिले नै अदालतमा दाखिल गर्न असम्भव वा कठिन हुने भएमा वा अदालतमा स्थान अभाव भएमा त्यस्तो सामानको व्यवस्थापन गर्ने जिम्मेवारी अभियोजनकर्तामा रहनेछ।

(२) अभियोगपत्रमा जफत गर्नु पर्ने दाबी नभएका मालसामान सम्बन्धित मालघनीले मुद्दा किनारा हुनु अगावै फिर्ता माग गरी निवेदन दिएमा त्यस्ता मालसामान अदालतले नियमानुसार फिर्ता दिन सक्नेछ।

(३) अभियोगपत्र दायर भएको तीन महिनाभित्र उपनियम (२) बमोजिम मालधनी फिर्ता लिन नआएमा वा नलगेमा “वा मालधनीको पहिचान नभएमा वा जफत हुने दाबी भएको वा नभएको भए पनि त्यस्तो दसीको सामान वा अन्य सामान मुद्दा अन्तिम किनारा नहुँदासम्म त्यसै राख्दा खिया लागी, टुटीफुटी, सडी गली वा अन्य कुनै परिबन्धबाट नोक्सान हुने देखिएमा रजिस्ट्रारले त्यस्तो मालसामानको प्रचलित कानून बमोजिम लिलाम गर्नु पर्नेछ।

(४) उपनियम (३) बमोजिम लिलाम बिक्री गरी प्राप्त भएको रकम अदालतको धरौटी खातामा आम्दानी बाँधी मुद्दा किनारा हुँदा ठहरे बमोजिम गर्नु पर्नेछ।

(५) उपनियम (३) बमोजिम लिलाम बिक्री भएका सामान लिलाम सकार गर्ने व्यक्तिका नाममा दर्ता गर्नुपर्ने अवस्था भएमा सम्बन्धित निकायमा लेखी पठाइदिनु पर्नेछ।

(६) यस नियममा लेखिएदेखि बाहेकका मुद्दामा दसीको रुपमा पेस भएका वा मुद्दासाथ पेस भएका अन्य मालसामानको व्यवस्थापन गर्न दुविधा भएमा सम्बन्धित इजलासमा पेस गरी भएको आदेश अनुसार गर्नु पर्नेछ।